काठमाडौं, असार १७ । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता वेद भट्टराईले बुधबार विज्ञप्ति निकालेर अनशनमा बसेका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवन रक्षाका लागि सार्थक संवाद गर्न सरकारलाई आग्रह गरेका हुन्।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने लगायतका माग राखेर सामाजिक अभियन्ता ईःसहितका व्यक्तिहरु अनशनमा बसेका छन्।
आयोगले पाटन दरबार क्षेत्रमा अनशनरत उनीहरुको अनुगमन गरेको पनि जनाएको छ। जसमा सुजान गुरुङ, सुवानी सिजापतीको स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
रिजा राउत, पुकार बम, गम्भीरजंग कार्की र सुनीता तामाङ रिले अनशनमा रहेका छन्। आयोगले विरोधका कार्यक्रम गर्दा कोरोना रोकथामका लागि सरकारले लागू गरेका मापदण्ड प्रभावकारी पालना गर्न पनि अनशनरत पक्षलाई आग्रह गरेको छ।


























