असार १७ । क्रिकेट दक्षिण अफ्रिकाले आयोजना गर्ने फरक फर्म्याटको (थ्री टिम क्रिकेट) प्रतियोगिताको नयाँ मिति तय भएको छ।
क्रिकेट दक्षिण अफ्रिकाले बुधबार सोलाडिरीटी कप नाम दिईएको प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो।
तीन टोलीले प्रतिस्पर्धा गर्ने उक्त क्रिकेट प्रतियोगिता जुलाई १८ मा हुनेछ। नेल्सन मण्डेला दिवसको अवसर पारेर जुलाई १८ मा प्रतियोगिता हुने दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ।
यस अघि प्रतियोगिता जुन २७ मा गर्ने भनिएको थियो। तर, आयोजनाका लागि तयारी नपुगेको भन्दै दक्षिण अफ्रिका क्रिकेटले प्रतियोगिता स्थगित गरेको थियो।
कोरोना भाईरसबाट प्रभावितलाई सहयोग गर्ने उदेश्यले क्रिकेट दक्षिण अफ्रिकाले तीन टिम सहभागी नयाँ फर्म्याटको क्रिकेट आयोजना गर्न लागेको हो।
प्रतियोगितामा एबी डी भिलियर्स, क्विनटन डी कक र कागिसो राबडाको कप्तानीमा रहने तीन टिमले एक खेल खेल्नेछ। यस खेलमा दक्षिण अफ्रिका शीर्ष २४ खेलाडीले खेल्ने छन्।
प्रतियोगितामा हरेक टोलीमा ८ जना खेलाडी हुने छन्। खेल कुल ३६ ओभरको हुनेछ। प्रत्येक टोलीले १२ ओभर खेल्ने छन्। ६ ओभरको एक इनिङ हुनेछ।
एउटा बलरले अधिक्तम ३ ओभर बलिङ गर्न पाउने छ। १८ ओभरमा ब्रेक टाइम हुने छ। ७ विकेट पतनपछि पनि अन्तिम ब्याट्सम्यानले खेल्न पाउने छ।
उक्त ब्याट्सम्यानले २ रन वा बाउन्ड्री प्रहार गर्नु पर्ने हुन्छ। सिंगल रन जोड्न भने पाउने छैन। सर्वाधिक रन बनाउने टोलीले स्वर्ण, दोस्रो धेरै रन बनाउने टोलीले रजत र कास्य पदक प्राप्त गर्ने छन्।
यस प्रतियोगिताबाट उठेको रकम कोरोना प्रभावितलाई सहयोग गरिने क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ।


























