असार १७ । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले कोरोना भाइरसको महामारी रहेसम्म चुनावी र्याली नगर्ने बताएका छन्।
डेलवरमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘आधुनिक इतिहासमा यो पटकको चुनावी अभियान सबैभन्दा असामान्य बनेको छ ।’
बाइडेनका प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनको तेस्रो हप्ता ओक्लोहोमाको टल्सामा भएको चुनावी र्यालीमा अपेक्षा भन्दा निकै कम मानिसको सहभागिता भएको थियो । त्यसपछि ट्रम्पको चुनावी अभियानले नयाँ चुनावी सभाको घोषणा गरेको छैन।
आउँदो नोभेम्बर ३ मा हुने चुनावलाई लिएर भएका पछिल्ला सर्वेक्षणमा पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन राष्ट्रपति ट्रम्प भन्दा दोहोरो अंकले अघि रहेको देखिएको छ।
मंगलबार बाइडेनले पत्रकारसँग भने, ‘म डाक्टरहरुको निर्देशन पालना गर्दैछु, र यो मेरा लागि मात्रै होइन देशका लागि हो, यसको अर्थ मैले कुनै चुनावी र्याली गर्ने छैन।’
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण करिब एक लाख ३० हजार मानिसको ज्यान गइसकेको छ। पछिल्लो समय फेरि अमेरिकामा संक्रमणदर दैनिक बढिरहेको छ।
बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न असफल भएको भन्दै ट्रम्प प्रशासनको आलोचना गर्दै आएका छन्। एजेन्सी


























