काठमाडौं, असार १५ । लामो समयको लक डाउनपछि सोमबारबाट खुलेको सेयर बजारले अन्तिम समयमा आएर लगानीकर्तालाई थोरै भएपनि राहत दिएको छ। कारोबार खुलेको पहिलो ४० मिनेटमै ४ प्रतिशतले घटेर नकरात्मक सर्किट ब्रेक लागेको बजार त्यसपछि भने केही सम्हालिएको थियो। बजार लगातार घट्न थालेपछि लगानीकर्ताले सेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो। पहिलो सर्किट ब्रेक लागेर पुनः सुचारु भएकोे सेयर बजारमा ४ कम्पनी नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक तथा सर्वसाधारणको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसले कोरोना भाइरस संक्रमण तथा लक डाउन जारी रहँदा आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्न नसकेको अवस्थामा केही राहत दिएको हो। तथापि, विश्लेषकहरुले लगानीकर्तालाई नआत्तिन सुझाव दिइरहेका छन्। केही समयपछि बजारको पेनिक गति रोकिने अपेक्षा गरिएको छ। सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान सबैभन्दा प्रमुख पक्ष हो। यस्तो बेला आम लगानीकर्ताले मनोविज्ञान दह्रो बनाउन आवश्यक छ।
सोमबार नेप्से सूचक १२.८७ अंकले घटेर ११८८.७० विन्दुमा आइपुगेको छ। कुल १०३ कम्पनीको ३४ करोड ७७ लाख भन्दा धेरैको सेयर कारोबार भएको छ। ९ लाख ७० हजार ७६ कित्ता सेयर खरिदबिक्री भएको हो। कारोबार भएका १२ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ। यस दिन व्यापार, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बिमा उपसमूहका परिसूचकहरु बढेका हुन्। सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २३७.६२ अंकले बढेको छ। यता, वाणिज्य बैंक समूह पनि २५.२२ अंकले तल झरेको छ।
कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा छ। यसको ३ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। खरिदबिक्री रकममा दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन्। यसदिन सबैभन्दा बढी गुमाउनेमा स्वाबलम्बन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र आशा लघुवित्त वित्तीय संस्था परेका छन्। यी ३ कम्पनीको भाउ १० प्रतिशतले घटेको छ।


























