काठमाडौं, असार १५ । कोरोनाका कारण समस्यामा परेका नेपालीको उद्धार जारी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमाबार मात्रै ६०७ जना स्वदेश फर्किएका छन्।
स्वदेश फर्कने कोही चार्टर उडानमार्फत् आफैंले खर्च बेहोरेर स्वदेश फर्किएका छन् भने कोहीलाई त्यही देशको सरकारले निःशुल्क पठाएको छ।
नेपाल एयरलाइन्समार्फत् सोमबार दोहाबाट १५१ जना र मलेसियाको क्वालालम्पुरबाट १३९ जना स्वदेश फर्किएका छन्। हिमालयन एयरलाइन्सबाट नै १५७ जना नेपाल फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
कुवेतबाट जजिरा एयरलाइन्समार्फत् १६० जना नेपाली स्वदेश फर्किएका छन्। उनीहरूलाई कुवेत सरकारले निःशुल्क स्वदेश पठाइदिएको हो। उनीहरू आममाफी पाएर नेपाल फर्किएका हुन्।
हिमालय र नेपाल एयरलाइन्सका चार्टर्ड जहाज सोमबारै ६ ठाउँमा नेपाली लिन जाने भएका छन्। हिमालयन एयरलाइन्स साउदीको दमाम र छाङ्सा गरी २ ठाउँमा जाँदै छ भने नेपाल एयरलाइन्सका ४ जहाज मलेसियाको क्वालालम्पुर, कतारको दोहा, यूएईको दुबई र कुवेत जाँदै छन्।


























