काठमाडौं, असार १५ । आज हिलोमा रमाउँदै धान रोप्नुको जति महत्त्व जति छ यही दिनलाई छोपेर दही चिउरा खानुको पनि उत्तिकै महत्त्व छ। दही चिउरा खाने चलन परम्परादेखि नै चल्दै आएको पाइन्छ। तर, यो पम्पराको सुरुवात कहिलेदेखि भयो भन्नेमा कुनै इतिहास नभएपनि धानखेतीको प्रारम्भ भएसँगै सुरु भएको बताइन्छ।
संस्कृतिविद्हरुका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपाईको काम सकिएपछि दही चिउरा खाने गरिएको र पछिल्ला समय यो परम्परा परिस्कृत हुँदै रोपाईमा मात्रै नभएर घरघरमै खाने चलन बसेको हो ।यद्यपि यसको सुरुवात कहिले भयो भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन। नेपाली समाज आधुनिकतातर्फ उन्मुख भइरहेको अवस्थामा पनि दही चिउरा खाने परम्परा कायमै रहनु सकारात्मक भएको कतिपयको बुझाई छ।
पछिल्ला वर्षहरूमा असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरूमा विकास भइरहेको छ। यही भएर सहर बजारमा समेत दही चिउराको जोहो गरेर खाने गरिन्छ। ग्रामीण क्षेत्रमा कृषकहरूले आफ्नै घरमा दुधालु पशुपालन गर्ने र नभएकाहरुले पनि छरछिमेकबाट मागेरै भए पनि परिवारका साथ होस् या रोपाईँमा आलीको डिलमा बसेर होस् दही चिउरा खाएर मनाउने गर्छन्।
तर सहरी क्षेत्रमा पशुपालन र खेतीपाती पनि कम हुने भएकाले परम्परा धान्नकै लागि व्यावसायिक डेरीहरुबाट दही गरिद गरेरै भए पनि दही चिउरा खाने गरेका गरिएको छ।
असार १५ मा किन दही चिउरा खाइन्छ ?
माथि उल्लेख गरिएझैं दही चिउरा खानु एउटा पुरानो परम्परा भए पनि यो संस्कृतिकै रूपमा विकास भइसकेको छ।
भनाई नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खिर !’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ, चाकु आदी खाइने परम्परा छ।
यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विशेष अवसरको आफ्नै महत्वको रहेको छ।
अरू अवसरको महत्त्व जेजस्तो भए पनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ।
यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता निश्चयनै पक्कै प्रदान गर्छ नै। दहीमा कार्बोहाइड्रेट, चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन। दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ हुन्छ, जसले शरीरलाई फाइदा गर्छ। असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोस पनि प्रदान गर्छ।
हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।
यस्ता शुभकाममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। एउटा मिथ्या छ– गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ।
दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ। यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ।


























