असार १३ । फेयर एन्ड लभ्ली क्रिमको उत्पादक बहुराष्ट्रिय बेलायती–डच कम्पनी युनिलिवरले यस फेस क्रिमले छालामा गोरोपन ल्याउने दाबीसहित विज्ञापन गर्ने गरेको थियो, अब गोरोपन र रंगभेदलाई बढावा दिनेगरी फेस क्रिमको विज्ञापन नगर्ने वाचा यस कम्पनीले गरेको छ।
कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै एक हप्ताभित्र ‘फेयर एन्ड लभ्ली’ ब्रान्डको नाम नै परिवर्तन गर्ने जनाएको छ। यतिमात्रै होइन कम्पनीले अब आफ्ना उत्पादनमा गोरो वा गोरोपनजस्ता शब्दको प्रयोग गर्नेछैन। कम्पनीका अनुसार स्किन केयर क्याटागोरीवाला उत्पादनमा सुन्दरतालाई लिएर परिभाषा बदलिएको छ र यसमा सबै तप्कालाई सहभागी गराइनेछ।
भारतस्थित कम्पनीका ब्युटी तथा पर्सनल केयर डिभिजन अध्यक्ष सन्नी जैनले भनेकी छन्– ‘आफ्नो स्किन केयर ब्रान्डको ग्लोबल पोर्टफोलियोर्ला लिएर हामी पुरै तरिकाले समर्पित छौं। यसले सबै रंग र तरिकाको स्किन टोनलाई ख्याल राख्नेछ। हामी यो बुझ्छौं कि ‘फेयर’, ‘लाइट’ र ‘व्हाइट’ जस्ता शब्दले सुन्दरताको एकतर्फी दृष्टिकोणको मात्रै वर्णन गर्छन्। हामीलाई लाग्दैन कि यो सही हो। र, हामी यसबारे ध्यान दिन चाहन्छौं।’
सामाजिक सञ्जालमा आक्रोश
अमेरिकामा जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा अहिले विश्वभर चर्चामा छ। र, गोरोपन ल्याउने दाबीसहित आफ्ना उत्पादन बेच्ने कम्पनीहरु रंगभेदलाई प्रश्रय दिएको भन्दै आलोचित भइरहेका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यस्ता उत्पादन र यसको विज्ञापनमा अभिनय गर्ने कलाकारहरुमाथि पनि निशाना साँधेका छन्।
यही आलोचनापछि यसै महिना युनिलिवरको प्रतिस्पर्धी कम्पनी ‘जोनसन एन्ड जोनसन’ ले गोरोपनलाई बाढावा दिने क्रिमको बिक्री बन्द गरिने जनाएको थियो। भारतमा ‘फेयर एन्ड लभ्ली’ १९७५ देखि बिक्री हुँदै आएको छ। समाचार एन्जेन्सी रोयटर्सका अनुसार पछिल्लो वर्ष युनिलिबरले केवल भारतीय बजारमा मात्रै ५० करोड डलरको ‘फेयर एन्ड लभ्ली’ बचेको थियो।
भारतमा ‘फेयर एन्ड लभ्ली’ को मार्केटिङ बन्द गर्नका लागि युनिलिवरसँग वर्षौदेखि माग गरिएको थियो, तर अहिले यो आवाज फेरि बलियो भएको छ। यसै महिना चेन्ज डट ओआरजी अनलाईनमार्फत हजारौं मानिसको समर्थनसहितका दर्जनौं याचिका दाखिल गरिएको थियो। ‘फेयर एन्ड लभ्ली’ ब्रान्ड भारत, नेपाल, बंगलादेश, इन्डोनेशिया, थाइल्यान्ड, पाकिस्तान र एशियाका अन्य देशमा पनि बिक्री हुन्छ। एजेन्सी


























