दाङ,असार १३ । सल्यानमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको कालिमाटी गाउँपालिका वडा नं ६ सिरेनी निवासी ७७ वर्षीय डिल्लीबहादुर आलेको पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार आले घरदेखि असार ९ गते घाँस काट्न भनि गएपछि बेपत्ता थिए।
आलेको शव डाँङडुङे खोला किनारमा पहिरोले ढाडभन्दा माथिको भाग पुरेको अवस्थामा शुक्रबार फेला परेको डिएसपी खतिवडाले जानकारी दिए।
‘शव शुक्रबार नै फेला परेको हो,’ डिएसपी खतिवडाले भने, ‘तर, प्रहरी शनिबारमात्रै घटनास्थल पुगेर मुचुल्का तयार पार्दैछ।’
घुईंयाबारीबाट घटनास्थल डाँङडुङे खोला पुग्न प्रहरीलाई पैदल ६ घन्टा लागेको डिएसपी खतिवडाले बताए।
Facebook Comments


























