नेपालगञ्ज, असार १२ । सरकारी किर्ते छाप र नक्कली कागजपत्रका आधारमा एकजना सुनचाँदी व्यवसायीलाई एक करोड २५ लाख रुपैयाँ ऋण दिएको घटनामा प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ।
नेपालगञ्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए।
यही घटनाको अनुसन्धान गरेको प्रहरीले बैंकका शाखा प्रवन्धक शाहीलाई पक्राउ गरेको हो। ऋण लिने जसगढ यसअघि नै पक्राउ परिसकेका छन्।
प्रहरीले अहिले सरकारी छाप किर्तेको अनुसन्धान गरिरहेको छ। त्यसक्रममा शाहीलाई पक्राउ गरेर म्याद थपको प्रक्रिया अघि बढाइसकेको छ भने बैंकका अरु कर्मचारीसँग बयान लिइरहेको छ।
प्रहरीले सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसुरमा अनुसन्धान गर्ने जनाएको छ। बैंकिङ कसुरको अनुसन्धान हुँदा बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने आकलन गरिएको छ।
किनकी, एउटा चोकको शाखाले एक करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गर्न नसक्ने सम्बद्धहरु बताउँछन्। २५ लाख बढीको ऋण केन्द्रबाट स्वीकृति लिनु पर्ने बुझिएको छ।
जसगढले नक्कली कागजपत्र र किर्ते छापका आधारमा २०७६ मंसीर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड १५ लाख रकम निकालेका थिए।
बैकमा पेश गरेका ४ वटा लालपूर्जा मध्ये २ वटा लालपूर्जा नै नक्कली भएको र १ वटा लालपूर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको पाइएको छ।
जसगढले बैकमा पेश गरेको सक्कली जग्गाको बजार मुल्य करिब ४ लाख २४ हजार मात्रै भएको तथ्य खुलेको छ।


























