चितवन, असार ११ । जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ। समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताए।
डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छुट गरिदिने तयारी गरेको जानकारी दिए। जिल्ला समन्वय समितिको व्यावसायिक सटर र घरबाट मासिक रु तीन लाख ९० हजार भाडा सङ्कलन हुन्छ,’ डल्लाकोटीले भने, ‘सरकारले लकडाउन गर्ने हामीले कसरी भाडा लिने?’ सरकारलाई सरकारी तहले सहयोग गर्नुपर्ने भन्दै उनले व्यवसाय नभएकासँग सरकारी निकायले भाडा लिनु न्यायिक नहुने बताए।
यसलाई समितिले छिट्टै निर्णय गर्ने डल्लाकोटीको भनाइ छ। जिल्लामा घरबाहलमा बस्नेले भाडा छुट गरिदिन माग गरिरहेका छन्। निजी क्षेत्रले समेत भाडाको टुङ्गो लगाइसकेको छैन। मुख्यरुपमा जिल्लाको प्रमुख बजार नारायणगढ र भरतपुर क्षेत्रमा महँगो भाडा तिर्ने व्यवसायी रहेका छन्। सरकारी तवरबाट समन्वयसहित अस्पताल, विद्यालय, क्याम्पस, नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरणलगायतले घरभाडामा लगायतका छन्।
ती निकायले भाडाको टुङ्गो लगाउन नसकी रहेका बेला जिल्ला समन्वय समिति प्रमुखले भाडा छुट गर्ने जनाएका हुन्। यससँगै अन्य सरकारी कार्यालय र निजी क्षेत्रलाई दबाब र सहजता हुने भएको छ। रासस


























