असार १० । एसिया कप क्रिकेट श्रीलंका वा युएई मध्ये एक राष्ट्रमा आयोजना गरिने भएको छ।
पाकिस्तान क्रिकेट बोर्डका सीईओ वासिम खानले एसिया कप क्रिकेट श्रीलंका र युएई मध्ये एक राष्ट्रमा आयोजना गरिने बताएका छन्।
यस वर्ष आयोजना हुने एसिया कप क्रिकेट पाकिस्तानमा तय भएको थियो।
तर, पाकिस्तान र भारतबीचको राजनैतिक द्वन्दको कारण एसिया कप सार्न लागिएको हो।
भारतीय टिमले पाकिस्तान भ्रमण नगर्ने भएपछि श्रीलंका र युएई मध्ये एक राष्ट्रमा एसिया कप गर्न लागिएको हो।
पाकिस्तान क्रिकेटका सीईओ खानले कोरोना भाईरस कम देखिएकोले श्रीलंकामा आयोजना हुने सम्भावना बढी भएको समेत बताए।
‘स्पष्ट रुपमा निश्चित समयमा हुनेछ। हामी एसिया कपका लागि आशावादी छौँ। किनकि श्रीलंकामा कोरोना भाईरसको केसहरु धेरै छैनन्। यदी उनीहरु गर्न सक्दैनन् भने युएई पनि तयार छन्,’ खानले भने।
कोरोना भाईरसको महामारी कायम रहेपछि एसिया कप अन्योलमा रहेको छ।
तर, सीईओ खानले एसिया कप सेप्टेम्बर र अक्टोबर भित्रमा आयोजना हुने बताए।
‘एसिया कप अगाढी बढ्नेछ। पाकिस्तानी टिम सेप्टेम्बरको दोस्रो साता इंग्ल्यान्डबाट फर्कनेछ। त्यसपछि हामी सेप्टेम्बर वा अक्टोबरमा प्रतियोगिता सक्ने छौँ,’ खानले थपे।
पाकिस्तानको क्रिकेट टिम आगामी साता इंग्ल्यान्ड भ्रमणमा निस्कदैछ।
घरेलु टिमसँगको टेष्ट र टी-ट्वान्टी सिरिजका लागि पाकिस्तानी टिम जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्ने बताईएको छ।
पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ।
दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ। टी-ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ। एजेन्सी


























