पाल्पा, असार ९ । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा सोमबार गएको पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ।
पहिरोमा परी मृत्यु हुनेमा चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा गएको पहिरोमा चार सवारी साधन बगाएको थियो।
सोमबार बेलुका पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई पहिरोले बगाएको थियो।
त्यस्तै लु २ च ७०४३ नम्बरको कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका छन्। ती गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
सडक माथिबाट पहिरो खसेर सवारीसाधन पुरिँदा दुईजनाको घटनास्थलमै र एकजनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको हो।


























