चितवन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको संख्या बढदै गएको छ। संक्रमण रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन) खुकुलो भए पनि विद्यालय सुचारु गर्न भने अझै पनि वातावरण सहज बनिसकेकाे छैन। विषम परिस्थितिका कारण घर बस्न बाध्य छन् विद्यार्थी।


पठनपाठनलाई निरन्तरता दिन डन एकेडेमी शरदपुरले भने अनलाइन कक्षा सञ्चालन गरिरहेको छ। लामो समयसम्म पढाई नहुँदा बानी बिग्रने, घरभित्रै बस्नुपर्दा दिक्दारी बढ्न सक्ने हुँदा उनीहरुको मनोविज्ञान बुझेर उपयुक्त कक्षा सञ्चालन गर्दै आएकाे एकेडेमीका प्राचार्य संगीता वस्ती विष्टले बताइन। घरयासी तथा सिर्जनात्मक काममा पनि उनीहरुको सहभागिता रहेको छ।


बैशाखदेखि नै नियमितरुपमा कक्षा एकदेखि दशसम्म अनलाइन कक्षामार्फत पठनपाठनलाई निरन्तरता दिइरहेकाे शैक्षिक संयोजक किसान शर्माले बताए। अनलाइन कक्षा सबैकाे लागि नयाँ अभ्यास र नयाँ प्रयाेग भए पनि विद्यार्थीहरुको सहभागीता भने उत्साहजनक रहेको उनले बताए। सधैँजसो शुक्रबार विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा अहिले विद्यार्थीहरु घरबाटै सहभागिता जनाएका छन्।


विद्यार्थीहरुको अनुशासन, मिहिनेत, परिश्रम, लगनशीलता र नियमिततालाई मूल्याङ्कन गर्दै उत्कृष्ट विद्यार्थीलाई डिजिटल प्रमाणपत्र प्रदान गरेकाे एकेडेमीले जनाएकाे छ। विद्यालय पूर्णरुपमा सञ्चालनमा आएसँगै उनीहरुलाई पुरस्कृत गर्ने याेजना बनाएकाे अतिरिक्त क्रियाकलाप संयोजक सुमन श्रेष्ठले बताए। ‘प्रविधिले सबैलाई सजिलो बनाएको छ, विश्वको अधिकांश देशमा यसको राम्रो अभ्यास छ,’ उनले भने, ‘नेपालमा पनि यसका लागि सबै ठाँउमा आवश्यक पूर्वाधार बारे सोच्ने हो भने सबैमा समान शिक्षा हुने थियो कि ?’






























