तनहुँ । देवघाट गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सडक निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। सोमबार छैठौँ गाउँसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले भने, ‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतलगायत गौरवका आयोजनासहित अन्य पूर्वाधारलाई पनि उच्च प्राथमिकताका साथ राखिएको छ ।’

गाउँपालिकाले यसअघि गर्दै आएका अधुरा कामलाई पनि पूरा गर्ने लक्ष्य लिएको छ। कोरोना भाइरसको संक्रमण फैलिएयता सोचेजस्तो काम गर्न नपाएको भन्दै सबैभन्दा पहिले कोरोना रोकथाम र नियन्त्रणका काम गर्नुपर्ने बेला आएको अध्यक्ष थापाले बताए। जनतालाई गाउँगाउँमा सिंहदरबार आएको अनुभूति दिलाउन हरेक नागरिकको आगनमै पुगेर सेवा दिन सकिने कार्यक्रमलाई प्रभावकारी बनाउने र आयआर्जन, रोजगारी तथा गरिबी निवारणसम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकताका साथ पूरा गर्ने लक्ष्य लिइएको छ।

गाउँपालिकाबाट सम्भव नहुने खालका विकास निर्माणको कामका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरेर आवश्यक सहयोग माग गरेर पूरा गर्ने गाउँपालिकाकी उपाध्यक्ष विमला थापामगरले जानकारी दिइन्। शालिग्राम करिडोरलाई गौरवशाली मार्गको रूपमा विकास गर्न र बञ्चरे पहाडको बाटोको स्तरोन्नतिको लागि पनि प्रदेश र संघीय सरकारसँग सहयोग मा गर्ने र हाल सञ्चालनमा रहेका सबै कच्ची सडकहरूलाई बाह्रै महिना चल्ने गरी स्तरवृद्धि गराउने लक्ष्य लिइएको उनले बताइन्।


























