काठमाडौं, असार ८ । नेपालका ७७ मध्ये ७६ वटा जिल्लामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण फैलिएको छ। एउटै जिल्लामा संक्रमण देखिएको छैन, त्यो हो रसुवा। बितेको २४ घण्टामा ओखलढुङ्गाका एक जनामा कोरोना संक्रमण देखिएसँगै ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
रसुवा जिल्लामा थोरै जनसंख्या भएकाले चुस्त व्यवस्थापन गरी कोरोना महामारीबाट अलग राख्न सकिएको प्रमुख जिल्ला अधिकारी बताउँछन्। जिल्लाभरको जनसंख्या ५० हजारको हाराहारी मात्रै छ। चीनमा संक्रमण फैलिँदा नै रसुवागढी नाका बन्द गरिएको थियो।
नेपालमा आज मात्र थप ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ। हालसम्म २ हजार १ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन्। बितेको २४ घण्टामा मात्र ३ सय ७० जना घर कोरोना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताए। त्यस्तै हालसम्म नेपालमा कोरोनाको कारण २३ जनाले ज्यान गुमाएका छन्।


























