काठमाडौं, असार ७ । निजी विद्यालय सञ्चालकले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो।
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ति जारी गरी २०७६ को बाँकी बक्यौता चुक्ता गर्न आग्रह गरेका छन्।
त्यस्तै, विज्ञप्तिमा २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गरी विद्यालयलाई सहयोग गर्न भनिएको छ।
कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालयहरु चैत पहिलो साताबाटै बन्द छन्। सरकारले विद्यालयहरुलाई चैत महिनाको शुल्क नलिन तथा अनलाइन कक्षाका नाममा कुनै शुल्कसमेत लिन नपाइने भनेको छ।
कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै विद्यालय सञ्चालकले शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका हुन्।
लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब दुई लाख शिक्षक–कर्मचारीको जीवन यापन कठिन भएको, विद्यालयहरूले भाडा र ऋणको ब्याज तिर्न नसकेकाले शुल्क तिर्न आग्रह गरिएको प्याब्सनको दाबी छ।
सरकारले निजी विद्यालयहरूका लागि राहत प्याकेज नल्याएपछि शुल्क उठाउनुको विकल्प नभएको उनीहरूको भनाइ छ।
विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्ना गर्न समेत उनीहरूले अभिभावकलाई आग्रह गरेका छन्।
सामाजिक दुरी कायम राखेर नयाँ तथा पुराना विद्यार्थीले अभिलेखीकरण गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएर अनलाइन कक्षा सुरु भएको एक हप्तामै विद्यालय सञ्चालकहरूले २०७७ सालको शुल्क तिर्न आग्रह गरेका हुन्। वैशाख, जेठमा केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चलन गरे पनि औपचारिक रुपमा पढाउन सुरु भएको १ असारदेखि हो।




























