चितवन, असार ६ । नारायणगढ–मुग्लिन सडकखण्डमा अहिले नियमत रुपमा गाडी चलिरहेको र जाम पनि नरहेको मुग्लिन प्रहरीले जनाएको छ।
चारकिलोमा खसेको पहिरो पन्छाउन तीन दिन लाग्दा शुक्रबार बेलुकासम्म सो सडकखण्डको यात्रा सास्तीपूर्ण थियो। गएको बुधबार बिहान चार बजेतिर खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार बेलुकादेखि दुईतर्फी सवारी सञ्चालनमा आएका हुन्।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो। निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो।
पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो। दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो। सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन सञ्चालन भएको खनालले जानकारी दिएका छन्।


























