नाइजेरिया, असार ५ । नाइजेरियामा बलात्कार तथा लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान शुरू गर्न लागिएको छ।
सूचना तथा संस्कृति मन्त्री लाइ मोहम्मदले देशव्यापी अभियानको शुरुआत गर्न लागिएको जानकारी दिएका हुन्।
कोरोना भाइरसका कारण उत्पन्न महामारीकै बेलामा पनि बलात्कार र लैंगिक हिंसासम्बन्धी धेरै घटना भएकाले अभियान शुरू गर्नुपरेको उनको भनाइ छ।
यस्ता घटनाहरूलाई नियन्त्रण तथा न्यूनीकरणका लागि धेरै क्रियाकलापहरू गर्ने सरकारले तयारी गरेको मन्त्री मोहम्मदले बताए।
महामारी चलिरहेको यस अवस्थामा जनवरीदेखि मे महिनासम्मको अवधिमा ७१७ वटा बलात्कारका घटना दर्ता भएको उनले जानकारी दिए।
नाइजेरियाका प्रहरी प्रमुख मोहम्मद अडामुले पनि ७१७ वटा बलात्कारका घटनामा संलग्न भएको आरोपमा ९७७ जनालाई पक्राउ गरिएको सार्वजनिक गरेका थिए। रासस/सिन्ह्वा
Facebook Comments


























