काठमाडौं, असार ५ । कोभिड १९ को कारण भएको लकडाउनमा केही खुकुलो गर्दै व्यवसाय संचालनको सुरुवात भएसँगै गाडी विक्रेता कम्पनीहरुले विभिन्न किसिमका अफर ल्याउन थालेका छन्।
यस्तोमा विश्व प्रसिद्ध जर्मन ब्राण्ड फक्सवागनले मासिक १० हजार किस्तामा नयाँ कार दिने अफर ल्याएको हो।
फक्सवागनले आफ्नो चर्चित इन्ट्री लेवल ह्याचव्याक कार पोलोमा उक्त अफर ल्याएको हो।
पुजा इन्टरनेशनलले नेपाली बजारमा आधिकारीक वितरकको काम गर्दै आएको फक्सवागनको पोलो कम्पनीको सबैभन्दा सस्तो कार हो। यसको मूल्य २९ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री वितरण भइरहेको छ।
कम्पनीले अहिले पोलो किन्ने ग्राहकलाई फ्रि एसोशरिज, एक वर्षको सडक दस्तुर, सरल फाइनान्स सुविधा, ४ वर्षसम्म निःशुल्क सर्भिसिङ जस्ता अफरहरु गरेको छ।
कम्पनीले ल्याएको अफरमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकमलाई ७ वर्षको मासिक किस्तामा किन्न सकिन्छ।
कम्पनीको अफर अनुसार १० प्रतिशत व्याजदरमा पोलो किन्दा मासिक किस्ता २४ हजार ४४५ रुपैयाँ हाराहारीमा पर्छ। तर, उक्त मासिक किस्ता एक वर्षसम्म ग्राहकले मासिक १० हजार रुपैयाँ तिरे पुग्छ भने बाँकी रकम कम्पनीले तिरिदिने छ।
गाडीको १३ औं किस्ताबाट ग्राहकले पुरै लाग्ने २४ हजार ४४५ रुपैयाँ तिर्नु पर्ने हुन्छ।


























