काठमाडौं, असार २ । यही असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ।
आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ। अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ।
उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ।
ग्रहण सुरुभएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ।
यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ।
आइतबार सूर्य ग्रहण तथा सोमबार चन्द्र ग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको छ।
उक्त ग्रहणलाई चुडामणि ग्रहण भन्ने गरिएको छ। गत वर्ष पुस महिनामा लागेको खण्डग्रस सूर्यग्रहण भन्दाभन्दा ठीक विपरीत तरिकाबाट लाग्ने भएकाले यसको प्रभाव विश्वभरि नै सकारात्मक रहने ज्योतिष शास्त्रीको दाबी छ।


























