काठमाडौं, जेष्ठ ३२। अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आपतकालिन बैठक भोलि (सोमबार)लाई बोलाएको छ ।
कार्यसमिति बैठक सम्पन्न भएको दुई साता पनि नबित्दै एन्फाले आपतकालिन बैठक आह्वान गरेको हो।
बैठक ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १ बजे बस्नेछ।
एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठकका लागि ४ एजेण्डा तय गरिएको छ।
पहिलो एजेण्डा एन्फाको मानार्थ अध्यक्षको बिषयमा रहेको छ। यस्तै, दोस्रो कोरोना राहतको बिषय, तेस्रो भक्तपुर जिल्ला फुटबल संघको बिषय र चौथो एजेण्डा विविध अन्तर्गत रहेको महासचिव तुलाधरले बताए।
एन्फाले मानार्थ अध्यक्षमा टासी घलेलाई पुन नियुक्त गर्ने तयारी गरेको छ। आन्तरिक विवाद बढ्दै गएपछि वर्तमान कार्यसमितिले घलेको मानार्थ पद खारेज गरिदिएको थियो।
यस्तै, बैठकले भक्तपुर जिल्ला फुटबल संघको बिषयमा समेत आवश्यक निर्णय गर्ने तयारी गरेको छ। वर्तमान नेतृत्वबिरुद्धका कृयाकलापमा संलग्न भएको आरोपमा एन्फाले भक्तपुर जिल्ला फुटबल संघलाई स्पष्टिकरण समेत सोधेको थियो। त्यही आधारमा बैठकले भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाही गर्ने सम्बन्धमा औपचारिक निर्णय सम्भावना रहेको छ।
एन्फाको सचिवालय बैठकले यसअघि ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई स्पष्टिकरण सोध्दै निलम्बनको निर्णय गरेको थियो। दुई हप्ता अघि बसेको एन्फा कार्यसमिति बैठकले थापामाथि गरिएको कारबाहीको निर्णयलाई औपचारिक अनुमोदन गरेको थियो।
यस्तै, एन्फाले कोरोनाबाट प्रभावित बनेका आफुसंग आबद्ध सबै जिल्ला फुटबल संघ, क्लब र संघलाई समान ७५ हजार रुपैयाँका दरले राहत वितरण गर्ने तयारी गरेको छ। सोमबारको बैठकले सो सम्बन्धमा औपचारिक निर्णय गर्ने बताईएको छ।
एन्फा विधानले तत्काल सुल्झाउनुपर्ने विवादहरुको निरुपणका लागि ५ सदस्यीय आपतकालिन समितिको व्यवस्था गरेको छ।
एन्फाले गठन गरेको आपतकालिन समितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, उपाध्यक्षत्रय कृण्ण थापा, विरबहादुर खड्का र उपेन्द्रमान सिंह रहेका छन्।
बैठकले गरेका निर्णय तत्काल कार्यसमिति सदस्यलाई जानकारी गराउनुपर्ने र निर्णय कार्यसमिति बैठकबाट पास गराउनुपर्ने प्रावधान रहेको छ।
कार्यसमिति बैठकबाट निर्णय पास नभएको अवस्थामा आपतकालिन बैठकका निर्णय निष्प्रभावी बन्नेछन्।
बैठकका लागि चार जना सदस्यको अनिवार्य उपस्थिती हुनुपर्नेछ। र मत विभाजनमा बराबरीको अवस्था आएमा अध्यक्षले अन्तिममा मताधिकारको प्रयोग गर्न सक्नेछन्।


























