काठमाडौं, जेष्ठ ३२ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्न कठिन भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा अहिलेको अवस्थामा सरकारलाई अनिवार्य दायित्व धान्नका लागि रुपैयाँको समस्या परिरहेको जानकारी गराएका हुन्। उनले भने, ‘अहिले हाम्रो मासिक अनिवार्य दायित्व ४० अर्ब रुपैयाँ छ।
यो दायित्वको सरकारले जसरी पनि नगदमा भुक्तानी गर्नुपर्छ। यसका लागि हामीलाई केही समस्या भइरहेको छ।’ उनले अहिले भन्सारबाट १ महिनामा १५ अर्बजति मात्र राजस्व उठिरहेको बताए। त्यो भन्दा न्यून आन्तरिक राजस्व छ। यसले ४० अर्बको दायित्व पूरा गर्न गाह्रो भइरहेको छ’ उनले भने।
विभिन्न कोषहरुको मुद्दति खातामा रहेको तर खासै प्रयोग नभएका रकम तान्न खुकुलो नीति बनाउन आवश्यक रहेको पनि अर्थमन्त्रीले बताए। उनले भने, ‘सरकारको विभिन्न कोषमा खासै प्रयोग नभएका रकमहरु सरकारले तान्नका लागि खुकुलो नियम बनाउन आवश्यक छ।’ यस्ता कोषका रकम तान्ने व्यवस्था खुकुलो नहुँदा विदेशबाट ऋण लिनु परेको उनको भनाई छ।


























