डोटी, जेष्ठ ३० । जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घरफर्किएका छन्। भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोना संक्रमणमुक्त भई बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ।
अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.ज्योति पाण्डेले बताए। उनले भने, “सङ्क्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ, उनमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ।”
सङ्क्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो। त्यसअघि उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पिसिआर परीक्षण गरिएको थियो। दुवैको नतिजा नेगेटिभ देखिएको थियो। डोटीका थप पाँचजना अन्य सङ्क्रमित आइसोलेशनमा राखिएको छ। रासस


























