काठमाडौं, जेष्ठ ३० । सर्लाहीको पर्सा ३ मा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ। गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको स्रोतले जनाएको छ। घटनामा पाँच जना भारतीय घाइते भएका छन्।
शुक्रबार बिहान करिब नौ बजे नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरी स्रोतको दाबी छ। त्यस क्रममा पाँच जना भारतीयलाई गोली लागेको छ।
गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसको पुष्टि गर्न बाँकी छ। मृतकको नाम, ठेगाना खुलेको छैन।
पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी महोहन बाहादुर जिसीले पुष्टि गरे। सिडिओ जिसीका अनुसार सुरुमा ४०/४५ जना भारतीय जवरजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेका थिए।
‘नेपाल प्रवेश गर्न खोज्दा सुरुमा सुरक्षाकर्मीले उनीहरुलाई रोके, त्यसपछि उनीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थाले। सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेका थिए,’ सिडिओ जिसीले भने, ‘फेरि ६०/६५ जनाको हुलामा आएर प्रहरीमाथि ढुंगामुढासाथै हतियार खोस्ने प्रयार गरे। त्यसक्रममा प्रहरीले फेरी हवाई फायर गरेर उनीहरुलाई भगाए।’
त्यस क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए। हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
सशस्त्रले गोली चलाएपछि उनीहरु भारततिरै भागेका छन्। त्यसक्रममा सशस्त्रले एक दर्जन हवाई फायर गरेको छ। उनीहरु नेपाल प्रवेश गर्न खोज्नुको उद्देश्य खुलेको छैन।
तर, सुरक्षा निकायले भने उनी नेपाल भारतमा अवैध रुपमा सामान ओसारपसार गर्ने तस्कर समूह भएको दाबी गरेको छ।


























