मकवानपुर, जेष्ठ २९ । मकवानपुरको हेटौँडामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। टिप्परको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ९ बजेको समयमा टिप्परको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहेका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो।
प्र ३–०२–०१२ प १३३८ नम्बरको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना ८ ख ७५५८ नम्बरको टिप्परले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























