जेष्ठ २८ । अफ्रिकी देश बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको निधन भएको छ। कार्डिक अरेस्टका कारण ५५ वर्षका राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको सरकारले बताएको छ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्यमा सुधार भएको थियो।
तर सोमबार कार्डिक अरेस्ट भएपछि उनलाई बचाउन गरिएको प्रयास असफल भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कतिपयले उनको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएको हुन सक्ने आशंका गरेका छन्। तर आधिकारीहरुले सो कुरा अस्वीकार गरेका छन्।
उनी विगत १५ वर्षदेखि बुरुण्डीको सत्तामा थिए। उनी आउँदो अगस्टमा पदबाट हट्दै थिए।
सन् २०१५ मा उनले तेस्रो कार्याकालका लागि चुनाव लड्ने घोषणा गरेपछि बुरुण्डीमा राजनीतिक विवाद सिर्जना भएको थियो। असफल कू को प्रयास पनि भएको थियो।
विवादले हिंसाको रुप लिँदा सयौँ मानिसको ज्यान गएको थियो भने दशौँ हजार मानिस देश छोडेर भाग्न बाध्य भएका थिए। एजेन्सी


























