काठमाडौं, जेष्ठ २६ । करिब तीन महिनादेखि बन्द हवाई सेवा सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरूबीच बन्द हवाई सेवा सुचारु गर्ने विषयमा छलफल भएको थियो।
छलफलपछि असार दोस्रो सातापछि हिमाली पहाडी क्षेत्रमा उडान सुचारु गर्ने विषयमा सहमतिनजिक पुगेको स्रोतले जनाएको छ। यद्यपि, कोरोना संक्रमणको स्थितिलाई हेरेर नियमक निकायले छिट्टै निर्णय गर्ने स्रोतको भनाइ छ। कोरोना संक्रमण न्यूनीकरणका निम्ति गत चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि आन्तरिक उडान स्थगित छ। सरकारको पछिल्लो निर्णयअनुसार असार १६ गतेसम्म उडान स्थगित रहेको छ।
यसैबीच नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा भने घटाएको छ। हवाई इन्धनको मूल्य घटेको स्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत हवाई भाडा समायोजन गराउन पत्राचार गरेपछि संघले मूल्य घटाएको हो।
नयाँ भाडादर अनुसार काठमाडौं माउन्टेन उडानका लागि ८ सय ६० रुपियाँ घटाएर २ हजार २ सय ३० रुपियाँ कायम गरिएको छ।
त्यस्तै काठमाडौं–भद्रपुरको ७ सय ५० रुपियाँ घटाएर १ हजार ९ सय ५० रुपियाँ कायम भएको छ भने काठमाडौं–विराटनगर ६ सय रुपियाँ घटाएर १ हजार ५ सय ५० रुपियाँ कायम भएको छ। काठमाडौं–पोखराको २ सय ७० रुपियाँ घटाएर ६ सय ९५ रुपियाँ बनाइएको छ।
हवाई भाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएअनुसार काठमाडौं–धनगढीको १ हजार १ सय ५ रुपियाँ घटाएर २ हजार ८ सय ७० रुपियाँ रहेको छ। काठमाडौं–नेपालगन्जको ८ सय १५ रुपियाँ घटाएर २ हजार १ सय १५ रुपियाँ बनाइएको छ। सबैभन्दा कम काठमाडौं–सिमरा र सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा रहेको छ।
संघले भारतीय आयल निगमले उपलब्ध गराएको मूल्यअनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य समायोजन गर्नुपर्ने माग राखेको छ। हवाई सेवा पुनः सञ्चालन गर्नुपूर्व इन्धनको मूल्य सामायोजन गर्नुपर्ने संघको माग छ। साथै पूर्ण क्षमतामा उडान गर्न पाउनुपर्ने तथा गन्तव्यमा क्वारेन्टाइनमा बस्न नपर्ने व्यवस्था गर्न पनि संघले भनेको छ।


























