काठमाडौं, जेष्ठ २५ । नेपाली कांग्रेसका तत्कालीन नेता मोहम्मद अफताब आलमको योजनामा बम तयार गर्दैगर्दा विस्फोट भएपछि घाइतेले इटाभट्टामा हालेर मारिएको प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
प्रहरीले इटाभट्टाका मिस्त्री मुक्ति शाहलाई शनिबार पक्राउ गरेको हो। प्रदेश(२ बाट खटिएको प्रहरी टोलीले ५६ वर्षीय शाहलाई नेपाल(भारत सिमावर्ती सिम्रौनगढ नगरपालिका(८ बाट पक्राउ गरिएको डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।
२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन आलमले निर्वाचनमा भय सृजना गर्न मान्छे लगाएर बम बनाइरहेका बेला रातको समयमा विस्फोट भएको थियो। विस्फोटमा घटनामा केहीको मृत्यु भएको थियो भने १५र१६ जना घाइतेलाई नजिकैकै इटाभट्टामा लगेर हालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उक्त निर्वाचनमा आलम विजयी भएका थिए। त्यतिबेला प्रहरीले अनुसन्धान गरेपनि आलमलगायतविरुद्ध प्रमाण नपुग्नेभन्दै तामेलीमा राखिएको थियो। त्यसपछि पिडितहरुले सर्वोच्च अदालतमा पटकपटक रिट दर्ता गरेपछि प्रहरी अनुसन्धान अगाडि बढाउन बाध्य बनेको थियो।
घटनाको करिब १२ वर्षपछि रौतहट प्रहरीले पुन अनुसन्धान गर्दै गत वर्ष आलमलाई पक्राउ गरेको थियो। तत्कालिन सांसद आलम मुद्धा पुर्पक्षका लागि कारागार चलान भएका थिए। ११ जनाविरुद्ध अभियोग लगिएकामा अझै ९ जना फरार छन्।

























