जेष्ठ २४ । जर्मन बुन्डेसलिगामा आज (शनिबार) ३० औं चरणका विभिन्न पाँच खेलहरु हुँदैछ। शीर्ष टोली बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आरबी लाइप्जिगले फरक टोलीसँग खेल्दैछन्।
उपाधि नजिक रहेको शीर्षस्थानको बायर्न म्युनिख बायर लेभरकुसनको भ्रमणमा निस्कने छ। खेल साँझ सवा ७ बजेपछि हुनेछ। घरेलु टोली लिभरकुसनलाई पराजित गर्दै बायर्न उपाधि यात्रालाई थप बलियो बनाउन चहान्छ। लेभरकुसनविरुद्ध जित निकाल्न सके बायर्नलाई यो सिजनको बुन्डेस लिगाको च्याम्पियन बन्न थप सहज हुनेछ।
२९ औं चरणको खेल सकिदा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ७ अंकले पछि पारेको छ। बायर्नको ६७ तथा डर्टमुन्डको ६० अंक छ। तर, घरेलु टोलीविरुद्ध बायर्नलाई जित निकाल्न त्यति सहज हुनेछैन। गत नोभेम्वरमा लेभरकुसनले बायर्नलाई उसकै मैदानमा २–१ को हार चखाएको थियो। त्यसैले बायर्न लेभरकुसनविरुद्ध संयमता अपनाएर अंक नगुमाउने लक्ष्यसहित मैदान उत्रनेछ।
बायर्न यसअघिको खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा समेत हुनेछ। स्टार खेलाडीले भरिएको बायर्नका लागि रोबर्ट लेवान्डोस्की मुख्य हतियार हुदा उनलाई थोमस मुलर, जोसुवा किम्मिच, किङ्सले कोमन, सर्जी जिनाब्री र गोलरक्षक तथा कप्तान म्यानुयल नुयरको साथ रहनेछ। लेवान्डोस्की जर्मन बुन्डेस लिगामा सर्वाधिक गोलकर्ताको सुचीमा (२९) गोलरहित शीर्षस्थानमा रहेका छन्।
यता, घरेलु टोली लिभरकुसन बायर्नलाई पुनः स्तब्ध पार्दै शीर्ष चारमा उक्लदै अर्को सिजनको च्याम्पियन्स लिगको लागि स्थान बलियो बनाउन चहान्छ। लेभरकुसनले यसअघि बायर्नलाई २–१ ले पराजित गरेको थियो। लिभरकुसनका लागि युवा स्टार मिडफिल्डर काई हाभर्टजनै केन्द्रविन्दुमा हुनेछन्।
बायर्नलाई पराजित गर्न सकेको खण्डमा लेभरकुसन ३० खेलबाट ५८ अंक जोडेर ५९ अंक जोड्दै शीर्ष चारभित्र पुग्नेछ। तर, बलियो प्रतिद्धन्द्धी बायर्नविरुद्धको खेल लेभरकुसनलाई कठिन नै हुनेछ। पछिल्ला दुई खेलमा भने लिभरकुसनले बायर्नलाई पराजित गर्न सफल भएको छ। यि दुईबीचको पछिल्लो २१ खेलमा बायर्नले ११ खेलमा जित निकालेको छ। लेभरकुसनले ५ खेलमा जित हात पार्दा ५ खेल बराबरीमा टुंगिएको छ।
बुन्डेसलिगाकै अर्को खेलमा साँझ सवा ७ बजे नै तेस्रो स्थानमा रहेको आरबी लाइप्जिगले पाडेरवर्नको सामना गर्दैछ। रेलिगेसन जोनमा रहेको पाडेरवर्नलाई पराजित गर्न सके लाइप्जिग डर्टमुन्डको खेलअघिसम्म दोस्रो स्थानमा उक्लनेछ। लाइप्जिगको लागि टिमो वेर्नर नै मुख्य हतियार हुनेछ।
यता, पाडेरवर्न पनि लाइप्जिगलाई स्तब्ध बनाउने दाउमा मैदानमा उत्रनेछ। हारले भने पाडेरवर्नलाई रेलिगेसनको खतरा बढ्नेछ। पाडेरवर्न १९ अंक जोडेर पुछारमा छ। अर्को खेलमा फ्रान्कफर्टले माइन्जको तथा फोर्टुना डुसेलडर्फले होफेनहाइनलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ। दुवै खेल साँझ सवा ७ बजे नै हुनेछ। एजेन्सी


























