– नारायण अधिकारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढलेर किच्दा दुर्लभ एक सिंगे गैंडा मरेको छ। निकुञ्जको राष्ट्रपति ताल क्षेत्रमा रुखले किचेर गैंडा मरेको हो। सो क्षेत्र कसरबाट दक्षिण पूर्व पर्दछ। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गएको सोमबार आएको हावाहुरीपछि ढलेको रुखले गैंडा मरेको अनुमान गरिएको छ। गैंडा रुखले किचेको अवस्थामा बुधबार भेटिएको हो। उनका अनुसार वयस्क पोथी गैंडा मरेको हो। योसँगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगती र दुर्घटनाबाट मर्ने गैंडाको संख्या २६ पुगेको छ।
गतवर्ष निकुञ्ज र वन क्षेत्रमा कालगतीबाट ४३ गैंडा मरेका थिए। हावाहुरीपछि रुखले किचेर गैंडा मरेको भेटिएसँगै बिहीबारबाट निकुञ्जमा सुईप अप्रेसन गरिँदै छ। ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुन सक्ने भन्दै अप्रेसन गर्न लागिएको उनले जानकारी दिए। (रासस)


























