काठमाडौं, जेष्ठ २१ । काठमाडौं मेडिकल कलेजका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालिन बन्द गरिएको छ।
अस्पतालले एक सुचना जारी गर्दै अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक लगायत सबै सेवाहरु बन्द गरेको हो।
अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्द राज जोशीले अस्पतालमै कोरोना संक्रमित भेटिएपछि अस्पताल निर्मालीकरण गर्नका लागि केहि दिन अस्पतालको सबै सेवा बन्द गरिएको जानकारी दिए।
‘हाम्रो अस्पतालमै संक्रमित भेटिएपछि अन्य व्यक्तिलाई पनि जोखिम हुनसक्छ, त्यसैले अस्पताललाई निर्मलीकरण गर्नका लागि केही समयलाई अस्पताल बन्द गरेका छौं।’
स्वास्थ्य मन्त्रालयले दिएको सुचना गलत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित लाइभ अपडेटमा काठमाडौं मेडिकल कलेजमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका २४ देखि ३२ वर्षका ३ महिला र २८ वर्षका एकजना पुरुष संक्रमित भएको र सबैजना स्वास्थ्यकर्मी भएको जानकारी दिएका थिए।
तर अस्पतालमा मेडिकल डाइरेक्टर प्राडा जोशीले भने अस्पतालमा रहेका दुईजना स्वास्थ्यकर्मी र दुईजना बिरामी भएको बताए।
‘स्वास्थ्य मन्त्रालयले भनेको सुचना गलत हो। हाम्रो अस्पतालमा ४ जना पोजेटिभ आएको २ जना स्वास्थ्यकर्मी र दुईजना बिरामी हुन्,’ प्रा.डा जोशीले भने, ‘२ जना अस्पतालमा आएका बिरामीको स्वाब संकलन गरेर पठाएकोमा रिपोर्ट पोजेटिभ आएको हो।’
प्रा.डा जोशीका अनुसार संक्रमति ४ जना मध्ये एकजना अस्पतालमा कार्यरत डाक्टर र एकजना नर्स हुन्।
यस्तै दुईजना बिरामीमध्ये एकजना चाँगुनारायण नगरपालिकाबाट स्वास्थ्य जाँचका लागि आएका बिरामी र एकजना सुत्केरी गराउन आएकी महिला हुन्। उनी रौतहट स्थायी घर भएकी महिला हुन्।


























