– अजिता अधिकारी
बन्दाबन्दी सातौं दिन
बन्दाबन्दी सत्रौं दिन
बन्दाबन्दी सत्ताइसौं दिन
…..
बन्दाबन्दी सन्त्ताउन्नौं दिन
….
यसरी लम्बिदै गएका बन्दाबन्दीसंगै
तन्किएका छन् अनगिन्ती अभाव र भोकहरु
चुड्न सक्छ अब भोकले चिमिर्किएको आन्द्रो
सुक्न सक्छन् अभावले फुस्रो भएका ओठहरु
अनि ढल्न सक्छन् आस्था र बिश्वासहरु
वाह लोकतन्त्र!
तँलाइ ल्याउन
काँधको हलो, जुवा फ्यात्तै फालेर
निस्किएका थिए काकाहरु आन्दोलनमा,
घासको भारी कान्लामै छोडेर
भिर भिरै आएका थिए
दिदी, बैनी अनि भाउजुहरु सडक तताउन,
ठोस्दै गरेको अगुल्टो छोडेर
आएकी थिइन् आमा
मुर्दाबाद र जिन्दावादका नारा लगाउन,
ठेलाभरी सपना बोकेर हिडेको भाइ
होमिएको थियो आन्दोलनमा
अघि अघि नारा लाउदै
र थापेको थियो गोलि छातिभरि
छिट्टै गरिबका दिन आउछन् भनेर।
गरिबका दिन त आए आमा
तर छिट्टै मर्ने दिन पो आए।
ए सरकार!
जब भोको पेट,
नाङ्गा आङ,
तिर्खाले सुकेका घाँटी,
अभावले थिलिएको शरिर
बिद्रोहमा उत्रिन्छन् नि,
थेगिनसक्नुको हलचल आउन सक्छ,
सडक भरी भोकहरु उत्रिनेछन्,
सडक भरी नाङ्गा जुलुस निस्किनेछन्,
त्यसैले ए सरकार
अब क्वारेन्टिन होइन
एक वडा एक पागलखाना ब्यबस्था गर।
अथाह भोक, रोग र अभावले
जनता छिट्टै पागल हुनेछन्
भोको पागल चिच्याउनेछ
ब्यबस्था बिरुद्ध,
पागलहरुको हुल बड्नेछ
सडक हुँदै
उतै आलिशान नयाँ दरबार तिर।
ठिक त्यतिबेला
थुन्दै घाँटी लामबद्द पागलहरुको
भाँचेर खुट्टा सरकार बिरोधि पागलहरुको
लगेर कोच्नु पर्छ लोकतान्त्रिक पागलखानामा
र बजाइदिनु पर्छ बाहिर पट्टी चर्को स्वरमा
रेकर्डेट कविता
“भोकले कोहि मर्नु पर्दैन”
* * *


























