चितवन। विश्वमा कोरोना भाइरसबाट ६२ लाखभन्दा बढी प्रभावित भएका छन् भने करिब साढे चार लाख मानिसले ज्यान गुमाइसकेका छन्। नेपालमा पनि यसको प्रभाव तीव्ररुपमा बढ्दै गइरहेको छ। जसले गर्दा सरकारले विगत दुई महिनादेखि देशलाई नै बन्दाबन्दीमा राखेको छ। अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पूर्णरुपमा बन्देज लगाइएको छ। सरकारले जोखिम कम गर्न भन्दै बन्दाबन्दीलाई बढाउँदै लगे पनि संक्रमण फैलने क्रम भने घट्नुभन्दा बढ्दै गएकाे छ। भाइरस संक्रमणकाे जाेखिम बढ्दै जाँदा सरकारले लकडाउनलाई लब्याउँदै महामारी हुनबाट बचाउने प्रयास त गरिरहेको छ। तर तत्काल जोखिम कम हुने सम्भावना भने देखिँदैन।
विश्वभर यसको प्रभाव ‘भुसको आगाेे’जस्तो भएर फैलनु र नेपालमा बन्दाबन्दीको समय बढाउँदै लैजाँदा आमसर्वसाधारण जनतामा डर र चिन्ता पनि उत्तिकै बढ्दै गएको छ। तर, डर र त्रासले मात्रै समस्या सामाधान हुने अवस्था छैन। रोगको संक्रमण रोकथाममा अनेक प्रयास त भइरहेकै छ। तर मनलाई शान्त र शरीरलाई व्यस्त बनाइराख्नु पनि आजको आवश्यकता हो। वर्तमान अवस्थामा सबैले मनोवल उच्च राखेर सजग र सर्तकता अपनाउनुपर्ने देखिन्छ।
कोरोना भाइरसको प्रभावले बालबालिकामा पनि ठूलो असर पारेको छ। अझ केही महिनासम्म यो अवस्था लम्बिने हो भने बालबालिकाको भविष्यमा नै असर पुर्याउने निश्चित छ। लामो समयसम्म विद्यालय पनि बन्द र बाहिर पनि निस्कन नपाउँदा बालबालिकाको मगजमा नकारात्मक प्रभाव पर्न सक्छ। धेरैजसो बालबालिका आफ्ना अभिभावकसँग भए पनि अभिभावकविहीन बालबालिकालाई बढी असर पर्ने देखिन्छ। विशेषगरी बालबालिकाको संरक्षण गरेर बसेका बालगृहहरुले यो समयमा सकारात्मक भूमिका खेल्न सक्नुपर्दछ। बालबालिकालाई स्वस्थ राख्नु, खानपान, सरसफाई र स्वच्छताामा ध्यान दिनु सबै अभिभावकको कर्तव्य हो।
त्यसैले बालबालिकालाई सबै अभिभावकले घरमै बसेर गराउन सकिने विभिन्न खालका क्रियाकलापमार्फत सक्रिय बनाउन सकिन्छ। चित्र बनाउने, कथा सुनाउने वा लेख्न लगाउने, गीत गाउने, नाच्न सिकाउने, विभिन्न खालका खेल खेल्न सिकाउने जस्ता गतिविधिमार्फत पनि परिस्थितलाई सहज बनाउन सकिन्छ। सकारात्मक तथा सिर्जनात्मक कार्यमा व्यस्त राख्न सकिन्छ।
दसैँ तिहारको बिदाबाहेक लामो बिदाको अनुभव नभएका बालबालिकामा वर्तमान परिस्थितिले बनाएको बन्दाबन्दीले बालबालिकाको नजरमा सकारात्मक भन्दा नकारात्मक असर बढी पुर्याएको अनुभव भएको बताउँछिन्, सानो घरकी सञ्चालक विमला श्रेष्ठ। ‘लामो समयसम्म लकडाउन हुँदा अलि बोर लागेको हो की जस्तो लाग्न थालेको छ,’ उनी भन्छिन्, ‘नानीहरुको दसैँ तिहारमा पनि लामो बिदा हुन्थ्यो। तर, अहिलेको जस्तो परिस्थिति त्यतिबेला हुँदैन।’ अहिले कोरोना भाइरसको जोखिमले गर्दा लामो समयसम्म बिदा भएको हो भन्ने जानकारी भए पनि उनीहरुको मनोभावना बुझ्दा केही डराएका हुन् की जस्तो लागेको उनको अनुभव छ।

‘तर उनीहरुलाई सरसफाइमा ध्यान दियौं भने कोरोना भाइरसबाट हामी सुरक्षित रहन सक्छौं भनेर सम्झाएको छु,’ उनी भन्छिन्, ‘घरमा नै सुरक्षित छौं।’ उनका अनुसार सानो घरबाट यसवर्ष दुईजना एसइईमा सहभागी हुँदैथिए। तर, कोरोना भाइरसको जोखिमले गर्दा परीक्षा स्थगित भएपछि उनीहरुले घरमै बसेर पढाइलाई निरन्तरता दिइरहेका छन्। तर, जुन रफ्तारमा तयारी गरेको थियो, परीक्षा नै स्थगित भएपछि केही खल्लो महसुस गरेका उनले बताइन्। ‘उनीहरुलाई सचेत र सुरक्षित साथ राख्नु मेरो दायित्व हो भन्ने मैले बुझेको छु,’ उनी भन्छिन्।
चीनमा कोरोना संक्रमणको खबर सुन्ने वित्तिकै ढिलोचाँडो नेपालमा पनि यसको असर पर्छ भनेर हरियो तरकारीबाहेक दाल, चामल, नुन तेल जस्ता खाद्यसामग्री लकडाउन अघि नै जोहो गरे पनि लकडाउनको समय लम्बिँदै जाँदा चिन्ता बढेको उनले बताइन्। देश नै लकडाउन भए पनि नयाँनयाँ कुरा सिकेर समयको सदुपयोग गरिरहेको उनको भनाइ छ। ‘पढाइमा मात्रै केन्द्रित भइरहेका नानीहरुले यतिबेला खानाका परिकार बनाउन सिकेका छन्,’ उनी भन्छिन्, ‘चामलको पापड बनाउने, सोयाविनको मःम बनाउने, कागजको झुम्का बनाउने जस्ता काममा सक्रिय छन्। ठूलाले सानालाई पढाएका छन्। सानो घरमा नानीहरु आफ्नो काम आफैँ गर्छन्।’
साहाराको घरले पनि नानीहरुलाई उनीहरुको रुचिअनुसारको काम सिकाइरहेको सञ्चालक कुसुम साहाराले बताइन्। ‘स्वास्थ्य नै सबैभन्दा महत्त्वपूर्ण विषय हो, उनले भनिन्, ‘त्यसैले सरसफाइ र खानपानमा विशेष ध्यान दिएका छौँ। फुर्सदको समयमा उनीहरुको रुचिअनुसारको काम सिकाइरहेका छौँ।’ करेसामा तरकारी लगाउन, गोडमेल गर्न सिकाइरहेको उनले बताइन्। लकडाउनले करेसाबारीमा पस्न सिकाएकोले नचिनेको तरकारीको बिरुवा पनि चिन्न थालेका उनको भनाइ छ।

‘हामीले बालबालिकालाई शिक्षित बनाउने नाउँमा किताबी ज्ञानमात्र दिएका रहेछौं’, उनी भन्छिन्, ‘लकडाउनले उनीहरुलाई नयाँ कुरा पनि सिकाएको छ। कहिले खाना बनाउने, कहिले चित्र बनाउने, कहिले पुराना कपडाबाट गुडिया बनाउने गरेका छन्।’ सीमित परिधिभित्र रहनुपर्ने भएकोले अलि गाह्रो भए पनि केही सामाजिक व्यक्तिहरुको सहयोगले अहिलेसम्म सजिलै भएको उनको भनाइ छ। तर, जे गरे पनि साबुनपानीले राम्रोसँग हात धुनु नै कोरोना भाइरस आउन नदिने मुख्य उपाय हो भनेर बालबालिकालाई सिकाउन कसैले भुल्न नहुने उनी बताउँछिन्।
‘हाम्रो घर’ नामक संस्थामा पनि ३० जना बालबालिका आश्रित छन्। पछिल्लो केही महिना यता विद्यालयको पढाइ छुटे पनि ठूलाले सानालाई विभिन्न खालका काम सिकाएर समय व्यतित गरिरहेका छन्। ‘पहिलेदेखि नै दैनिक एकघण्टा योग प्रणायम गर्छौ,’ अध्यक्ष रामहरि श्रेष्ठले भन्छन्, ‘अहिले बढी फुर्सद हुने भएपछि अझ लामो समय गरिन्छ।’ घरभित्र फराकिलो ठाँउ भएकोले भित्रै खेल्ने सुविधा पाएका छन्। खान, बस्न त्यस्तो कुनै समस्या नरहेको उनको भनाइ छ।
वर्तमान समयलाई बुझेर स्वास्थ्यमा विशेष ध्यान राखेर सादा नेपाली खाना खाने गरेको उनको भनाइ छ। ‘खाना शकाहारी हुन्छ,’ उनले भने, ‘सबैको माया–ममताले चलेको संस्था हो। अहिलेको परिस्थितिमा भने दाताको सहयोग केही कम भएको छ। यस्तै परिस्थिति रह्यो भने समस्या पर्न सक्छ।’ हाम्रो घर जस्तै संघसंस्था चितवन जिल्लाभित्र धेरै नै रहेकाले सम्बन्धित स्थानीय सरकारले कहिलेकाहीँ मात्रै हेरिदिए पनि सान्त्वना मिल्ने उनले बताए। तर, अहिलेसम्म अवस्था के–कस्तो छ भनेर सोधनी नभएकोमा उनको गुनासो छ।


























