काठमाडौं, जेष्ठ १९ । नेपालमा हालसम्म २ सय २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्। पछिल्लो समय एक जनामा निको भएर घर फर्किएसँगै यो संख्या २ सय २१ पुगेको हो।
डडेल्धुराका परशुराम नगरपालिका १० का २८ वर्षीय १० दिनमै कोरोना संक्रमणमुक्त भएर घर फर्केका हुन्। उनलाई डडेल्धुरा अस्पताल विकास समितीका अध्यक्ष करुणाकर ओझाले अस्पतालबाट पुष्पगुच्छाले बिदाइ गरेका थिए। डडेल्धुरा अस्पतालको एम्बुलेसले उनलाई परशुराम नगरपालिका वडा १० मा रहेका उनकै घर पुत्याउने अस्पताले जनाएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको दुई पटक रिर्पोट नेगिटिभ आएपछि डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदीश विष्टले बताए।
सरकारी करारका कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ।
प्रदेशगत आधारमा हेर्दा प्रदेश १ मा ३० जना डिस्चार्ज भएका छन् भने प्रदेश २ मा १ सय ४ जना डिस्चार्ज भएका छन्। बागमती प्रदेशबाट २९ जना संक्रमणमुक्त भएका छन् भने गण्डकीबाट ३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यसैगरी प्रदेश ५ मा ४८ जना संक्रमणमुक्त भएका छन् भने सदुरपश्चिम प्रदेशमा ७ जना कोरोना संक्रमणमुक्त भएका छन्। कर्णालीमा भने हालसम्म संक्रमणमुक्त भएर फर्किएका छैनन्।
सोमबार २२६ जनासमेत गरी हालसम्म १ हजार ७ सय ९८ जनामा कोरोना संक्रमण भएको छ। ८ जनाको भने यसकै कारण मृत्युसमेत भएको छ।


























