जेष्ठ १८ । अमेरिकामा काला जातिका पुरुष जर्ज फ्लोयडलाई प्रहरीले घाँटी थिचेर मारेपछि त्यसको विरोधमा भइरहेका हिंस्रक प्रदर्शन विभिन्न शहरमा फैलिएका छन्।
निःशस्त्र फ्लोयडलाई भुइँमा पछारेर एक प्रहरी अधिकारीले घुँडाले घाँटीमा थिचेका थिए। उनले सास फेर्न गाह्रो भयो भने पनि थिचिरहँदा पछि उनको मृत्यु भएको थियो।
मिन्नियपोलिसमा भएको यो घटनाले अन्उ शहरका मानिसलाई पनि आक्रोशित बनाएको छ।
फ्लोयडलाई मार्ने डेरेक चाउभिनलाई हिरासतमा लिइएको छ र उनको घरबाहिर दंगाप्रहरी खटाइएको छ।
मिन्नियपोलिसमा विरोध प्रदर्शनहरू दंगामा परिणत भएका छन्। प्रहरी चौकीहरूमा आगजनी गरिएको छ। नेसनल गार्डले लगाएको कर्फ्युलाई बेवास्ता गर्दै दंगाबाजहरूले लुटपाट र तोडफोड मच्चाइरहेका छन्।
‘मिन्नेसोटा वा मिन्नियपोलिस प्रहरी विभागलाई काला जातिका मानिसको अभियोजन गर्न मात्र चासो छ,’ एक प्रदर्शनकारीले भने। ‘प्रहरी विभागमा लडाकू संस्कृति छ र त्यो संगठनकै बेइज्जती हो। यो बकवास छ।’
लुटपाट र दंगा बढ्दै गएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको दोष उग्रवामपन्थीहरूलाई दिएका छन्। उनले लुटपाट गर्नेलाई गोली हान्न सकिने समेत बताएका छन्। एजेन्सी


























