काठमाडौं, जेष्ठ १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि राहत र सहुलियतका प्याकेजहरू ल्याएको बताएका छन्।
१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्थाअनुरूप राहत र सहुलियतका प्याकेजहरू ल्याएको बताए।
उनले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायीहरू उत्साहित भएको विश्वाससमेत व्यक्त गरे। कोभिड -१९ को महामारीबाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको उनको भनाइ थियो।
आरोहणको क्षेत्रमा भएका समस्या समाधान र थप रोजगारी सिर्जना गर्नेगरी पर्यटन ऐन ल्याउन लागिएको उनले जानकारी दिए। पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठानको अवधारणाअनुरूप पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको जानकारी पनि उनले दिए।
सगरमाथा नेपाली पर्यटनको पुनर्उत्थानको प्रेरणाको स्रोत रहेकाले सर्वोच्च शिखरको सरसफाइ र सौन्दर्य कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने मन्त्री भट्टराईले बताए।


























