काभ्रे, जेष्ठ १६ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ का स्थानीय किसानको बाख्रा र बोका चोरीमा संलग्न दुई जनासहित दुई गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
रोशी गाउँपालिका–७ स्थित विवेक तामाङको बाख्राको खोरबाट तीन बोका र चार बाख्रा चोरी गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका वडा नं ९ का सजिन शाह ठकुरी र धुलिखेल नगरपालिका–२ रविओपीका डिलबहादुर तामाङलाई पक्राउ गरेको हो।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको अनुसन्धान टोलीले नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए।
सो अवसरमा बाख्रा र बोका चोरीमा प्रयोग गरेको बा १६ च ८८३० नंको बोलेरो र बा १४ च ६८५७ नंको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुवै जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। रासस


























