जेष्ठ १४ । नेपालको नयाँ राजनीतिक नक्साबारे दुष्प्रचार गर्ने भारतीय पत्रकार अर्नव गोस्वामीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा ब्युँताइने भएको छ। महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले रिपब्लिक टीभीमा आबद्ध पत्रकार गोस्वामीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा ब्युताइने पुष्टि गरेका हुन्।
उनले सन् २०१८ मा पत्रकार गोस्वामी र अन्य दुईजनाद्वारा आत्महत्याका लागि उक्साएको घटनालाई सीआईडीले जाँच गर्ने बताएका छन्। ‘दी इन्डियन एक्सप्रेस’ अखबारका अनुसार उक्त मुद्दालाई रायगढ प्रहरीले गत वर्ष बन्द गरेको थियो।
गृहमन्त्री देशमुखले पीडित परिवारका सदस्यको निवेदनका आधारमा उक्त मुद्दालाई सीआईडीले अनुसन्धान गर्ने निर्णय गरिएको बताएका छन्। यो घटना अन्वय नाइक र उनकी आमाको मृत्युसँग जोडिएको घटना हो। जसको शव २०१८ मे महिनामा मुम्बईनजिकैको रायगढ जिल्लामा पर्ने अलीबागस्थित घरमा फेला परेको थियो।
अन्वय नाइककी छोरी अदन्याले पत्रकार गोस्वामीले ८३ लाख रुपैयाँ फिर्ता नगरेको विषयमा अलीबाग प्रहरीले छानबिन नगरेपछि आफ्ना बुबा र हजुरआमाले आत्महत्या गर्नुपरेको दाबी गरेकी छन्। एजेन्सी


























