जेष्ठ १४ । चीनले प्रस्ताव गरेको सुरक्षा सम्बन्धी नयाँ कानून बनाउने सम्बन्धी विधेयकको दोस्रो चरणको छलफललाई मध्यनजर गरेर हङकङको सुरुक्षा व्यवस्था कडा पारिएको छ। चीनको राष्ट्रगानको निन्दासहितलाई अपराधको रुपमा राखिएको सुरक्षा कानून सम्बन्धी विधेयकको ‘सेकेण्ड रिडिङ’ बुधबार हुँदैछ।
सम्भावित प्रदर्शन नियन्त्रणमा लिनका लागि हङकङ भर हजारौँको संख्यामा प्रहरी तैनाथ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। चीनले प्रस्ताव गरेको कानून सम्बन्धी विधेयक हङकङको संसदमा प्रस्तुत हुन लागेको हो। संसद भवन वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। शहरभर दंगा प्रहरी तैनाथ भएका छन्।
चीनले गएको हप्ता घोषणा गरेको सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङका प्रजातन्त्र पक्षधरहरु आन्दोलनमा उत्रिएका छन्। अमेरिकासहितका विश्वका विभिन्न देशले चीनले ल्याउने भनेको नयाँ कानूनप्रति चासो व्यक्त गरेका छन्।
तर मंगलबार नियमित साप्ताहिक पत्रकार सम्मेलनको क्रममा हङकङकी नेतृ कारी लामले आफ्ना नागरिकलाई आन्दोलन नगर्न आग्रह गर्दै नयाँ कानूनमा गरिएको सबै व्यवस्था सार्वजनिक हुँदासम्म पर्खिन भनेकी थिइन्। उनले हङकङको स्वायत्तता र स्वतन्त्रता कुनै पनि हालतमा नगुम्ने उनको दाबी छ।
प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुन सक्ने बताएका छन्। यस्तै सो कानून हङकङको आधारभूत स्वतन्त्रता र कानूनी शासनको भावना विपरित रहेको प्रदर्शनकारीको भनाई छ।
सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ। चीनको हिस्सा भएर पनि हङकङ अलग छ।


























