चितवन, जेष्ठ १४ । नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा चितवनले दीप प्रज्वलन गरेको छ। युनियनको आफ्नै भवन रहेको शाखाले मङ्गलबार साँझ कार्यालयमा दीप प्रज्वलन गरेको हो।
युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा उनले कोरोना भाइरसको सङ्क्रमणका समयमा पत्रकारलाई प्याकेजको घोषणा गर्न सरकारसँग माग गरे। अहिले राजधानी बाहिर सञ्चालित पत्रपत्रिका बन्द हुने अवस्थामा पुगेको भन्दै उनले यस क्षेत्रको जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको बताए। उनले भने, “सङ्क्रमणकालीन समयमा भ्रष्टाचार र मनोपोली बढ्न सक्छ, यसप्रति तपाईँ हामी सजग रहनुपर्छ।”
यस्तै प्रेस युनियन चितवनले भरतपुर महानगरपालिका–९ मा रहेको चितवन मानव सेवा आश्रममा रहेका आश्रितलाई खान खुवाएको छ। शाखाका जिल्ला अध्यक्ष अनिल ढकालका अनुसार आश्रममा रहेका आश्रितलाई स्थापना दिवसका अवसरमा खाना खुवाइएको हो। कोरोना भाइरसको सङ्क्रमणका समयमा प्रेस युनियन चितवन शाखाले पत्रकारलाई राहत वितरणदेखि मास्क, स्यानटाइजरलगायत सामग्री वितरण गर्दै आएको छ। रासस


























