काठमाडौं, जेष्ठ १३ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएका जानकारी दिए।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ३५ जना, भेरी अस्पतालमा ८ जना, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा ७ जना, सेती प्रयोगशालामा २ जना, पोखरामा २ जना, सुर्खेतमा १२ जना र दाङमा गरिएको परीक्षणमा २४ जना संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिराहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रुपन्देहीका १, कैलालीका १, अछामका १, रुयाङ्जाका २ र सुर्खेतका १२ गरी ९० जना संक्रमित थपिएका हुन्।
अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। पछिल्लो चौबिस घण्टामा मात्रै ४३ जना डिस्चार्ज भएका छन्।
उनीहरु मध्ये दुई जना महिला र बाँकी सबै पुरुष छन्। हालसम्म १२४ जना पुरुष र ३१ जना महिला कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका डा. देवकोटाले जानकारी दिए।
नेपालमा हालसम्म चार जना कोरोना संक्रमितको भने मृत्यु भएको छ।


























