काठमाडौं, जेष्ठ १३ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो बस्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारको बैठक समापन गर्दै बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्।
मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गरे भने रुकुमपश्चिममा युवती लिन गएका युवकमाथि भएको आक्रमण र हत्याको विषयमा छलफल भएको थियो। सरकारले घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सदनमा जानकारी गराएका छन्।
बैठकमा दुई संसदीय समितिको प्रतिवेदन पेश भएको छ। बैठकमा कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘कृषि तथा सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरेकी हुन्।
यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गरेकी हुन्।


























