काठमाडौं, जेष्ठ १२ । प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको विषयमा बिना तथ्य भ्रामक समाचार सम्प्रेषण गर्ने ७० वटा अनलाइनहरुलाई बन्द गरेको छ।
काउन्सिलमा दर्ता नै नभएका ७० वटा अनलाइनलाई बन्द गरिनुका साथै अन्य केही प्रतिष्ठित सञ्चारसंस्थाहरुलाई स्पष्टीकरण मागेर सचेत तुल्याउने तथा ध्यानाकर्षण गराउने लगायतको कारबाही काउन्सिलले गरेको हो।
गत चैत १० गतेदेखि जेठ ८ गतेसम्ममा कोरोना संक्रमणको विषयमा समाजमा अपवाह फैलाउने अनलाइनहरु बिना दर्ता तथा काउन्सिलको बिना अनुमति नै भेटिएपछि बन्द गरेको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार नेपालभित्र प्रसारण तथा प्रकाशन बन्द गरिएका अनलाईनहरुले कोरोनाबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, लकडाउन खुलेको लगायत भ्रामक समाचार सम्प्रेषण गरेको जनाएको छ।
पत्रकार आचारसंहिता नै नबुझि समाजमा भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइनहरुको अनुगमन गरी काउन्सिलले कारबाही गरेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए।
काउन्सिलले पत्रकार आचारसंहिता विपरित काम गर्ने ५९ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण, २२ वटालाई सचेत, ४० वटालाई निर्देशन, १४ वटालाई ध्यानाकर्षण र एउटालाई अन्तिम चेतावनी समेत दिएको जानकारी दिएको छ।
कोरोना महामारी संक्रमणका विषयमा बिना तथ्य समाचार सामग्री सम्प्रेषण गर्ने विद्युतीय तथा छापामाध्यमहरुलाई कारबाहीको दायरामा ल्याउने कामलाई निरन्तरता दिइएको काउन्सिलका अध्यक्ष श्रेष्ठले बताए।


























