संखुवासभा, जेष्ठ १० । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ।
उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए।
नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार ४ बजे काठमाडौँ लगिएको थियो। उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो। सो अस्पताल प्रसूति तथा स्त्रीरोग सेवाका लागि केन्द्रीय विशेषज्ञ अस्पतालको रुपमा रहेको छ।
उनीलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो। चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो।
सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन्। त्यहाँ उनका परिवारले दुई लाखभन्दा बढी खर्च गरेका जनाइएको छ। अस्पतालमा थप शुल्क तिर्न नसकेपछि उनीलाई घर फर्काएको थियो।


























