काठमाडौं, जेष्ठ १० । लकडाउनले नेपालमै रहन बाध्य भएका जापानी नागरिकसहति २६८ यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज जापान प्रस्थान गरेको छ।
केही नेपाली यात्रु समेत रहेको नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिताका लागि शुक्रबार राति पौने १० बजे प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।
चाटर्ड उडान भरेको उक्त विमानमा जापानमा नै बसोबास गर्ने १९७ जना नेपाली पनि रहेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए।
नेपालस्थित जापानी दूतावासको पहलमा निगमको वाइड बडी जहाजले चाटर्ड उडान गरेको बताइएको छ।
लकडाउनमा निगमको जापानमा यो तेस्रो चाटर्ड उडान हो। सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइड बडी जहाजले दोस्रो पटक चाटर्ड उडान गरेको थियो। गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो।
Facebook Comments


























