गुल्मी, जेष्ठ १० । कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ आएको छ। गाउँका २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।
शिक्षकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले ती शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो।
स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए। तीमध्ये पाँचजनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्रक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।
स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो। त्यसमध्ये मदानेका पाँच र तम्घासका ६ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।


























