काठमाडौँ । शुक्रबार एकैदिन ३९ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौँडा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट मकवानपुर, भक्तपुर, सप्तरी, मोरङ, बारा, चितवन, नवलपुर, नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लाका मानिसहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।
दिउँसोसम्ममा ३० जनामा संक्रमण पुष्टि भएकोमा साँझ आएको रिपोर्टअनुसार हेटौँडा ३ मकवानपुरका ५४ र भक्तपुर ९ का ४२ वर्षिया महिला, बलान–बिहुल गाउँपालिका सप्तरीका ३५ वर्ष, सिम्रनगढ नगरपालिका बाराका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरूषमा संक्रमण पुष्टि भएपछि शुक्रबार एकैदिन संक्रमितको संख्या ३९ पुगेको हो। संक्रमित सबैको स्वास्थ्यावस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये तीनजनाकाे मृत्यु भएकाे छ भने ७० जना पूर्णरुपमा काेराेनामुक्त भएर घर गइसकेका छन्। संक्रमितकाे संख्या बढ्दै गएकाेले थप सतर्कता अपनाउन मन्त्रालयले आम सर्वसाधारणमा अनुराेधसमेत गरेकाे छ।



























