जेष्ठ ९ । भारत र दक्षिण अफ्रिका आगामी अगष्टको अन्तिममा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न सहमत भएका छन्।
दुवै देशका क्रिकेट बोर्ड अगष्ट अन्तिममा तीन खेलको सिरिज खेल्न सहमत जनाएका हुन्।
तर, यी दुई बोर्डले सहमति जनाएपनि दुवै देशका सरकारले यसमा थप सहमति जनाउनु पर्ने आवश्यक रहेको छ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल विश्व खेलकुद जगत अस्तव्यस्त भएको छ।
लामो समयबाट क्रिकेट नभएको बेला दक्षिण अफ्रिकाका क्रिकेट डिरेक्टर ग्रेम स्मिथ र भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुली सिरिज खेल्न सहमत भएका हुन्।
दुवै देशका शीर्ष व्यक्तिले फोन मार्फत नै सिरिजमा समर्थन जनाएका हुन्। सिरिज दक्षिण अफ्रिकाले आयोजना गर्ने तयारी गरेको छ। सिरिज दुवै राष्ट्रलाई लाभ हुने अपेक्षा गरिएको छ।
‘हामीले उनीहरू (भारत) संग कुरा गरेका थियौं र तीन टी-ट्वान्टी क्रिकेट खेल्न सहमत भएका छौं,’ स्मिथले भने, ‘तर त्यसबीचमा धेरै काम गर्नु पर्ने छ। कसैलाई थाहा छैन कि अगष्ट अन्तिम सम्म अवस्था कस्तो हुन्छ। तर हाम्रो सामाजिक दूरी कायम गर्ने खेल हो र हामी बन्द रंगशालामा खेल्न सक्छौ।’
दक्षिण अफ्रिका क्रिकेटलाई कोरिनाको खासै असर नगरेपनि उसले यो सिरिजबाट ठुलो रकम जुटाउने माध्यम बन्ने अपेक्षा गरिएको छ।
यता भारतमा भने इन्डियन प्रिमियर लिग आईपीएल नहुने सम्भावना रहेको कारण भारतीय बोर्डलाई ठूलो आर्थिक नोक्सानी हुनेछ। एजेन्सी


























