चितवन, जेष्ठ ९ । चितवनमा क्वारेन्टाइनमा बसेकालाई मदिरा पुर्याउने पक्राउ परेका छन्।
क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउने क्रममा राप्ती नगरपालिकाका एकजनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलिया रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए।
उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउन जाँदा इलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो।
घरेलु मदिरासहित नियन्त्रणमा लिइएका थपलियालाई प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। उनको बयानको काम नसकिएकाले उनलाई प्रहरीको हिरासतमा राखिएको छ। क्वारेन्टाइनमा बस्दा मदिरा सेवन गर्न नपाइने उनको भनाइ छ।
कोरोना जोखिमका कारण बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई जिल्लामा स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी राख्ने व्यवस्था गरेका छ।


























