चितवन, जेष्ठ ९ । भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ।
सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो।
भरतपुर महानगरपालिका वडा नं ६ का वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको छ। स्वास्थ्य कार्यायले दिएको जानकारीअनुसार ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा पोजेटिभ देखिएको हो।
उनीहरु दुवै जेठ ३ गते भारतबाट उपचार गरी फर्किएका हुन्। उनीहरुसँगै फर्किएका छोराको भने परीक्षण नेगेटिभ देखिएको छ। वृद्ध वृद्धा र सँगै फर्किएका छोरालाई आज बिहानै कोरोना अस्पताल ल्याइएको छ।
यस्तै नवलपरासीका सङ्क्रमितलाई बिहानै सो अस्पताल ल्याइएको छ। स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार ४५ वर्षीय ती पुरुष विनय त्रिवेणी नगरपालिका वडा नं ६ का हुन्। उनी जेठ १ गते भारतको गुजरातबाट आएका हुन्। उनका अनुसार आएलगत्तै उनलाई पश्चिम नवलपरासीको क्वारेन्टिनमा राखिएको थियो। उनलाई जेठ ६ गतेदेखि आफ्नै वडाको क्वारेन्टिनमा बसेका थिए।
यही जेठ ७ गते बेलुका ज्वरो आएपछि उनी उपचारका लागि चोरमारा स्वास्थ्य केन्द्रमा ल्याएको उनले जानकारी दिए। पोजेटिभ देखिएलगत्तै उनलाई भरतपुर कोरोना अस्पताल पठाइएको हो।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमण देखिएका तीन र यसअघिका एक गरी चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। रासस


























